Thursday, March 21, 2013

‘मिस नेपाल’ को उपाधी २१ बर्षीया इशानी श्रेष्ठलाई

यो बर्षको ‘मिस नेपाल’ को उपाधी काठमाण्डौ निवासी २१ बर्षीया  इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् । उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् ।‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा संयुक्त परिवार भन्ने जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।
यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाले जितेका छन् ।‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।
यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलभ निर्णायकको रुपमा रहेका थिए ।
पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।

No comments:

Post a Comment